काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि 'नागरिक, नीति र नेतृत्व' नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ ।
पार्टीका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार, यो कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ । केन्द्रीय कार्यालयमा उपस्थित भई मन्त्रीहरू नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन् । यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास पार्टीले लिएको छ ।
रास्वपाले यस कार्यक्रमलाई प्रत्येक पटक दुई चरणमा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ ।
पहिलो चरणमा नागरिक संवाद साँझ ५ देखि ६ बजेसम्म गरिनेछ । यो एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ । यस चरणमा सम्बन्धित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्ने र यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत पुग्ने आशा गरिएको रास्वपाले जनाएको छ ।
दोस्रो चरणमा नेतृत्व संवाद साँझ ६ बजेपछि गरिनेछ । जसमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ । यस बैठकमा पहिलो चरणको 'नागरिक संवाद' बाट प्राप्त भएका सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा सघन छलफल गरिने रास्वपाले जनाएको छ ।



