काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको हो ।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए । साउन ६ गते देउवा र साउन १२ गते खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेका थिए ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचितहरूलाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ प्राप्त भएपछि देउवा र खड्काले फैसला पुनरवलोकन गर्न माग गर्दै निवेदन दिएका थिए । यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानुनी सिद्धान्त एवम् प्रचलित कानुन समेतको प्रतिकूल रहेको दाबी निवेदनमा छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि यो विवाद सर्वोच्चमा पुगेको थियो । सर्वोच्चले कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्च अदालतबाट सदर भएको थियो ।
निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि शेरबहादुर र पूर्णबहादुरले आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।


