नेपाल न्युज प्वाइन्ट डटकम
ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

काठमाडौं : बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा उपभोक्ताले ग्यास अभावको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित विशेष संयन्त्र बनाइएको हो ।

क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।

टिमको मुख्य जिम्मेवारी देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा समस्या देखिए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्नु हुनेछ । निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ ।

क्विक रेस्पोन्स टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ ।

उपभोक्ताले एलपी ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । उक्त नम्बरमा प्राप्त हुने जानकारीका आधारमा क्विक रेस्पोन्स टिमले आवश्यक पहल गर्दै ग्यास आपूर्ति सहज बनाउने निगमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update