एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी ‘धेरै चाँडै’ खुल्ने अपेक्षा व्यक्त गरे । उनले त्यसो नभए इरान ‘धेरै नराम्ररी प्रभावित’ हुने चेतावनी दिँदै अन्ततः जलघाँटी खुल्ने दाबी गरे ।
ट्रम्पको यो प्रतिक्रिया अमेरिका, इरान र ओमानबीच जलघाँटी पुनः सञ्चालनका लागि अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको र अमेरिकाले बुधबार त्यसको घोषणा गर्न सक्ने एक्सियोसको समाचार सार्वजनिक भएपछि आएको हो ।
उनले अमेरिका र इरानबीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै दुवै पक्ष द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयासमा रहेको बताए । “कार्य नै सबैभन्दा महत्त्वपूर्ण हो, उनीहरू सम्झौता गर्न चाहन्छन्, के हुन्छ हेर्दै जाऔँ”, ट्रम्पले भने । उनले आफूलाई कूटनीतिक प्रयासका लागि पर्याप्त समय रहेको पनि बताए ।
पछि क्यालिफोर्नियाबाट लास भेगासतर्फ प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता ‘भोलि वा पर्सिसम्म’ हुन सक्ने विश्वास व्यक्त गरे ।


