काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तानका सम्बन्धित सरकारी निकाय र अल्पाइन क्लब अफ पाकिस्तानसँग सहकार्य गर्दै प्रभावित आरोहीहरूको अवस्था पत्ता लगाउने तथा सुरक्षित उद्धारका लागि आवश्यक पहल गरिरहेको छ ।
पाकिस्तानी अधिकारीहरूले उद्धार टोलीमार्फत खोजी कार्य जारी रहेको जानकारी नेपाली दूतावासलाई गराएको मन्त्रालयले जनाएको छ । उद्धार प्रक्रियालाई प्रभावकारी बनाउन पाकिस्तान पक्षले उपलब्ध स्रोत र साधन परिचालन गर्ने प्रतिबद्धता जनाएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को नेतृत्वमा रहेको ब्रड पिक आरोहण टोलीमा नेपाली नागरिक पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सहभागी रहेका छन् ।
उक्त टोलीमा नेपालबाहेक ओमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस पनि समावेश रहेको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले घटनापछि प्रभावित आरोहीहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित पक्षसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाएको छ ।


