काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले संशोधनको उद्देश्य र प्रक्रियाबारे स्पष्टता दिन सरकारसँग माग गरेका हुन्।
प्रधानमन्त्री बालेन शाह का राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले आफ्नो काम सम्पन्न गरिसकेको भए पनि अन्तिम चरणमा अन्य दलका प्रतिनिधिहरूलाई सहभागी नगराइएको विषयले थप शंका उत्पन्न गरेको छ।
यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र उपलब्धिमाथि प्रश्न उठाउँदै भने, “हजारौंको बलिदान, त्याग र लामो संघर्षबाट प्राप्त समावेशी लोकतान्त्रिक संविधानलाई पुनर्लेखन गर्ने प्रयास त भइरहेको होइन?” उनले थपे, “कतै यो संविधानलाई कमजोर पार्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको त होइन भन्ने प्रश्न अहिले आम नागरिकमा उठ्न थालेको छ।”
यस्तै, प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्न पनि माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष सम्बोधन गर्दै उनले उक्त घटनाले साम्प्रदायिक तनाव बढाउने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, “बोलबम यात्राका क्रममा सुरु भएको विवाद दु:खद् घटनामा परिणत हुनु गम्भीर विषय हो। यसले ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने जोखिम देखिएको छ।” साथै, उनले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै सोधे, “त्यहाँ गोली चलाउनुपर्ने अवस्था किन आयो? के त्यो स्तरको बल प्रयोग आवश्यक थियो?”
प्रचण्डले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।


