काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस गरिएका तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो ।
यसअघि संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा कार्की तथा निर्वाचन आयुक्त पदमा वाग्ले र सुब्बालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसअनुसार संसदीय सुनुवाइ समितिले उनीहरूको संसदीय सुनुवाइ सम्पन्न गरी अनुमोदन गरेको हो ।
समितिले मंगलबार वाग्ले र सुब्बाको संसदीय सुनुवाइ गरेको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ बुधबार सम्पन्न भएको थियो । सुनुवाइपछि बसेको बैठकले तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
अनुमोदित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले महान्यायाधिवक्ता कार्यालय र सर्वोच्च अदालतमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । उनी सर्वोच्च अदालतको रजिस्ट्रारका रूपमा समेत कार्यरत रहिसकेका छन् ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै अब संवैधानिक व्यवस्थाअनुसार उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ ।


