काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल जारी गरेको छ । सुनसरीलगायतका विभिन्न जिल्लाहरूमा हालै विकसित भएका संवेदनशील र दुःखद घटनाक्रमहरूको समीक्षा गर्दै दलहरूले यस्तो आग्रह गरेका हुन् ।
बैठकपछि जारी गरिएको ७ बुँदे संयुक्त वक्तव्यमा पछिल्ला घटनाक्रममा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 'नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सह-अस्तित्व हो,' वक्तव्यमा भनिएको छ, 'सयौं वर्षदेखि कायम रहेको भाइचारालाई खलबल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछौं ।'
राजनीतिक दलहरूले लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टिको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिको माध्यमबाट मात्र सम्भव हुने उल्लेख गरेका छन् । शान्ति कायम राख्न केन्द्रको प्रयास मात्र पर्याप्त नहुने ठहर गर्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न र संवादलाई तल्लो तहसम्म पुऱ्याउन दलहरूले आफ्ना मातहतका कमिटीहरूलाई निर्देशित गरेका छन् । यसका लागि स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर सक्रिय हुन आवश्यक रहेकोमा जोड दिइएको छ ।
दलहरूले सामाजिक सञ्जालमार्फत फैलन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले स्थितिलाई थप भयावह बनाउन सक्ने भन्दै सञ्चारमाध्यम र आम नागरिकलाई जिम्मेवार र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
साथै, नागरिकको जिउ-धनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि सबै राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै समस्याको दिगो र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई सहयोग गर्न आफूहरू दृढ संकल्पित रहेको दलहरूले जनाएका छन् ।
संयुक्त अपिलमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन् ।




