काठमाडौं : नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ७९ वर्षीय श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । श्रेष्ठको उपचारका क्रममा साउन १२ गते मंगलबार ललितपुरस्थित हेलिअस अस्पतालमा निधन भएको थियो ।
कांग्रेसले शोक कार्यक्रमसमेत सार्वजनिक गरेको छ । निर्णयअनुसार साउन १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाइनेछ । साउन १४ गते देशभरका पार्टी कार्यालय बन्द रहनेछन् भने १३ दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राखिनेछ । स्वर्गारोहणको १३औं दिन स्याङ्जाको कालिगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गरिने निर्णय पनि बैठकले गरेको छ ।
कांग्रेसले विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनर्स्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरेको छ । पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उनले पटक–पटक गरी करिब छ वर्ष जेल जीवनसमेत बिताएको कांग्रेसले जनाएको छ ।
श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए ।
उनले उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतकसमेत थिए ।
२००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठले राष्ट्र, लोकतन्त्र र समाजवादप्रति देखाएको समर्पण तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको कांग्रेसले उच्च सम्मान गरेको छ । पार्टीले उनको निधनबाट एक अनुभवी र अग्रज राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र पार्टी नेतृत्वमा उनले खेलेको भूमिका कांग्रेसको इतिहासमा सधैं स्मरणीय रहने जनाएको छ ।


