काठमाडौं : सुनसरीको घटना छानबिनका लागि सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।
सुनसरी घटनाबारे छलफल गर्नका लागि सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । घटनापछि स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राको तयारीका क्रममा राति ठुलो आवाजमा डिजे बजाउने विषयलाई लिएर स्थानीय दुई समूहबीच विवाद सुरु भएको थियो ।
मध्यरातमा चर्किएको भनाभन झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पनि अवस्था सामान्य हुन नसकेपछि हवाई फायर गरिएको र अन्ततः गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।
उक्त घटनामा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।


