नेपाल न्युज प्वाइन्ट डटकम
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु

नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा अचेत अवस्थामा फेला परेका दुई जना महिलाको मृत्यु भएको छ।

गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिरनजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बागलुङ घर भई हाल गैंडाकोट-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राईको मृत्यु भएको हो।

अकलामाई मन्दिर नजिकको चौरमा पूर्व-पश्चिम राजमार्गको बायाँपट्टि दुई महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

टोलीले दुवै जनाको तत्काल उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्‍याएको भए पनि उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट फेला परेका छन्।

यस्तै, मृतकहरूको शरीरमा बाह्य चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update