काठमाडौँ : सशस्त्र प्रहरी बल (एपिएफ) स्कुल, कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार आरोपको अनुसन्धानका क्रममा लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई निरन्तरता दिन माग गरेको म्याद थपसम्बन्धी निवेदनका आधारमा विशेष अदालतको इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले हिरासत अवधि थप गर्ने निर्णय गरेको जनाइएको छ ।
आयोगले गुरुङ र तामाङमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ अन्तर्गत अनुसन्धान गरिरहेको छ । उनीहरूलाई अनुसन्धानका लागि अख्तियारमा उपस्थित गराइएपछि थप प्रक्रिया अघि बढाइएको हो ।
गत असार २० गते जिल्ला प्रहरी परिसरले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । त्यसपछि उनीहरूलाई अदालतबाट पटक-पटक म्याद थप गरिँदै आएको छ। पछिल्लो आदेशसँगै उनीहरूको हिरासत अवधि थप भएको यो पाँचौँ पटक हो ।
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा साउन ८ गते दुवै आरोपीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको थियो। त्यसपछि आयोगले घटनासम्बन्धी प्रमाण संकलन तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ ।
अदालतको पछिल्लो आदेशपछि आरोपीहरूलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको अख्तियारले जनाएको छ ।


