काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले व्यवस्थापन संकायअन्तर्गत एमबिए प्रथम सत्रको परीक्षा सञ्चालनकै क्रममा प्रश्नपत्र बाहिरिएको घटनालाई गम्भीर रूपमा लिँदै छानबिन समिति गठन गरेको छ ।
व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गत परीक्षा सञ्चालन समितिले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको त्रिविले जनाएको छ ।
डिन कार्यालयले जारी गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक हुनु परीक्षा प्रणालीको मर्यादा र विश्वसनीयतामाथिको गम्भीर चुनौती भएको उल्लेख गर्दै घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साउन ८ गते एमबिए प्रथम सत्रअन्तर्गत ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि परीक्षा प्रणालीको गोपनीयता र विश्वसनीयतामाथि प्रश्न उठेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार परीक्षा मध्याह्न १२ बजे सुरु भएको थियो । तर करिब पाँच मिनेटपछि नै ‘एमबिएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र सार्वजनिक गरिएको देखिएको छ । उक्त समूहमा एक हजार २३ सदस्य रहेको बताइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ । त्यसपछि समूहका एक सदस्यले समाधानसमेत मागेको र केही मिनेटपछि अर्को पीडीएफ फाइल पनि पठाइएको देखिएको छ । उक्त पिडिएफमा के सामग्री थियो भन्ने भने खुलिसकेको छैन ।


