काठमाडौँ : नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा (साउन ८ बिहान १० बजे देखि साउन ९ बिहान १० बजेसम्म) सर्प दंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जना गरी कुल ६ जनाले ज्यान गुमाएका हुन् ।
प्राधिकरणको विवरणअनुसार गत २४ घण्टामा सर्प दंशका ११ घटना भएका छन् । जसबाट ७ जिल्ला प्रभावित भएका छन् । सर्प दंशका कारण ४ जनाको निधन भएको छ भने ७ जना घाइते भएका छन्। सर्प दंशका घाइते तथा नियन्त्रणका लागि नेपाल प्रहरीका ४५ जना जनशक्ति परिचालन गरिएको छ । यसैगरी, ७ जिल्लामा ८ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पहिरो क्षेत्रबाट १ जनाको सकुशल उद्धार गरिएको छ र उद्धार तथा मार्ग खोल्न ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ग्यास विष्फोटको एक घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । सात जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै आगलागीका घटना ४ जिल्लामा ४ वटा घटना भएका छन् । कुनैपन मानवीय क्षति भएको नभएको र २० प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । बाढीको एउटा र अविरल वर्षाका दुई वटा घटनामा कुनै मानवीय क्षति भएको छैन । तर सडक अवरोध र क्षति पुगेको छ । लेक लाग्ने १ घटनामा १ घाइते र जनावर आक्रमणको १ घटनामा १ जना घाइते भएका छन् ।


