नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंमा एक वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना

काठमाडौं : काठमाडौं जिल्लामा एक वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना भएका छन् । साइबर ठगीका घटनामा रेस्पोन्स गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने, ‘साइबर अपराध सबैभन्दा ठुलो जोखिमको क्षेत्र भएको छ।’ 

२०८२ साउन पछि २०८३ असार मसान्त सम्ममा विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार ठगी भएको अनुसन्धानले देखाएको छ ।

गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारिएको हो ।

कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको हो । जसमा पटके अभियुक्त र अपराधको कसुर अनुसारका फरक फरक छुट्टयाएर प्रोफाइल तयार पारिएको छ ।

काठमाडौंमा लागुऔषधको मुद्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुई सयले बढेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारमा संलग्न १ हजार ७३ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

गत आवमा  ६७० वटा लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । 

लागुऔषध कारोबारमा पक्राउ पर्नेमा १ हजार १३ पुरुष र ६० जना महिला छन्। आर्थिक रूपमा सक्रिय हुनुपर्ने जनशक्तिलाई बिगार्ने र नष्ट गर्ने लागुऔषध सम्बन्धी घटना निकै जोखिममा रहेको भट्टराईले बताए ।

काठमाडौंमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा मात्रै उक्त विरोध प्रदर्शनका घटनाहरू भएका हुन् ।

यस्ता प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार ८ सय ५४ प्रहरी परिचालन भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

त्यस्तै एनपीएल जस्ता ठूला ठूला कार्यक्रमहरु पनि भएको  र तिनको शान्तिपूर्ण व्यवस्थापन गरिएको प्रहरीले बताएको छ । यसै वर्ष जेनजी आन्दोलन पनि भएको थियो । जेनजी आन्दोलनमा भने प्रहरीतर्फ पनि ठूलो क्षति भएको थियो ।

नेपालमा अनैतिक कार्य गर्नका लागि विदेशी महिलाको आकर्षण बढेको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष २०८२–०८३ मा अनैतिक कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ परेको जानकारी जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिए ।

त्यसरी पक्राउ परेकामध्ये ४७ जना महिलालाई प्रहरी कारवाहीपश्चत् अध्यागमन विभागमार्फत सम्बन्धित देशमा फिर्ता (डिपोट) गरिएको छ ।

प्रहरी कारावही सकिएर पनि बाँकी १० जना महिला डिपोट प्रक्रियामा रहेको प्रवक्ता भट्टारईले बताए । बैंककसहित विभिन्न अफ्रिकी मुलुकका महिलामा नेपालमा अनैतिक कार्यका निम्ति आकर्षण बढेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update