काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो बनाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले उनीमाथि कारबाही गरेको हो । प्रहरीले गुप्ता आफैं कार्यालय पुगेर जरिवाना रकम बुझाएको जनाएको छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । सर्वसाधारणसरह जनप्रतिनिधिमाथि पनि कानुन समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेपछि ट्राफिक प्रहरीले नियम उल्लंघनको कसुरमा उनीलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो ।
कारबाहीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्तअनुसार कारबाही भएको भन्दै स्वागत गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिका लागि ५ सय रुपैयाँको जरिवाना मात्रै पर्याप्त नभएको टिप्पणी गरेका छन् ।
आलोचना बढेपछि सांसद गुप्ताले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन् । उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झना ताजा भएको र त्यही उत्साहका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लंघन भएको आफूले महसुस गरेको उल्लेख गरेका छन् ।
उनले अब आफ्नो जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानी वा नजानी भएको गल्तीका लागि क्षमा मागेका छन् ।


