नेपाल न्युज प्वाइन्ट डटकम
चुनाव हारिएला भन्ने डरले सिद्धान्तसँग सम्झौता गरिँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश चुनावको परिणाम देखाएर कसैले तर्साउन खोजे पनि पार्टी चुनावबाट नआत्तिने र नमतिने स्पष्ट पारेका छन्। ४४औँ बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस शक्ति वा सत्ताको प्रतिस्पर्धामात्र होइन, समाज र सिद्धान्तसँग जोडिएको राजनीतिक अभ्यासमा अघि बढ्ने जिकिर गरे।

थापाले “एउटा चुनावको हार–जितले आस्था बदलिँदैन” भन्दै चुनाव हारिएला भन्ने डरले सिद्धान्तसँग सम्झौता नगर्ने बताए। “हामी बीपी कोइरालाका कार्यकर्ता हौं, चुनावबाट मात्तिने वा आत्तिने होइनौं,” उनले भने, “समाजले स्वीकार नगर्ने गठबन्धन बोक्ने कांग्रेस होइन।” उनका अनुसार कांग्रेसको पहिलो प्राथमिकता नागरिकको विश्वास जित्नु हो, र त्यसका लागि पार्टी सत्ताभन्दा समाजसँग गहिरो रूपमा जोडिनुपर्छ।

उनले पछिल्लो समय पार्टीभित्र ‘इलेक्सन मेसिन’जस्तो मानसिकता हाबी भएको टिप्पणी गर्दै नेता–कार्यकर्तालाई “रिलबाट निस्किएर रियल लाइफमा फर्किन” आग्रह गरे। राजनीति केवल चुनाव जित्ने प्रतिस्पर्धामा सीमित हुन नहुने बताउँदै उनले शिक्षा, रोजगारी, कृषि, लागुऔषध दुव्र्यसन नियन्त्रण, र वातावरण संरक्षणजस्ता विषयलाई वास्तविक राजनीतिक एजेन्डा बनाउनुपर्ने बताए।

त्यसैगरी, थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली, स्वतन्त्र र प्रभावकारी बनाउन आवश्यक परे संविधान संशोधन गर्न समेत कांग्रेस तयार रहेको बताए। उनले संवैधानिक संस्थाहरू प्रभावकारी रूपमा काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीसहित सबै सरकारी निकाय संविधानको दायराभित्र रहनुपर्नेमा जोड दिए। “अख्तियारले निष्पक्ष छानबिन गर्छ भन्ने विश्वास नागरिकमा हुनुपर्छ,” उनले भने, “संरचनागत सुधार, पदाधिकारी संख्या वृद्धि जस्ता विषयमा पनि हामी खुला छौं।”

थापाले कांग्रेसको मुख्य लक्ष्य राजनीतिक हस्तक्षेपबाट मुक्त, सक्षम र स्वायत्त संवैधानिक निकाय निर्माण गर्नु भएको उल्लेख गरे। साथै, विगतका कमजोरी सुधार्दै समाजसँग पुनः सम्बन्ध बलियो बनाउन पार्टी पंक्तिलाई आह्वान गरे।

कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचारलाई ‘व्रह्माण्डीय’ भन्दै कुनै एक व्यक्ति वा परिवारमा सीमित नभएको बताए। उनले बीपीको विचारलाई विश्वस्तरमा फैलाउने लक्ष्यसहित अघि बढ्नुपर्ने उल्लेख गर्दै बदलिँदो समयअनुसार त्यसलाई आत्मसात गर्नुपर्ने धारणा राखे। पार्टीभित्र देखिने मतभेदलाई स्वाभाविक रूपमा लिन पनि उनले कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update