काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित ४४औं बीपी स्मृति तथा जरा अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय सार्वजनिक गरेका हुन्।
सभापति थापाका अनुसार पार्टीको साउन १२ र १३ गते बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय औपचारिक रूपमा अनुमोदन हुने अपेक्षा गरिएको छ । “लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको र कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालिसक्नुभएको व्यक्तित्वलाई सम्मानस्वरूप यो निर्णय गरिएको हो,” थापाले कार्यक्रममा बताए ।
हाल क्यान्सर रोगबाट पीडित श्रेष्ठ पछिल्लो करिब १० दिनदेखि आइसियुमा उपचाररत छन् । यसअघि पनि नेपाल र भारतमा उपचार गराइसकेका श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ । सभापति थापाले उनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
श्रेष्ठ विगतमा पार्टीको उपसभापति तथा कार्यवाहक सभापति जस्ता महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका नेता हुन् ।


