काठमाडौं : जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेट प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ । बिहीबार सम्पन्न ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । जसअनुसार नेपालले टेस्ट राष्ट्र अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । प्रतियोगिताको ढाँचाअनुसार दुवै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । यसअघि नै भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । समूह चरणबाट छनोट हुने चार टोलीले ती चार बलिया राष्ट्रसँग अन्तिम आठको चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यसअघि सन् २०२२ मा चीनमा सम्पन्न एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । उक्त चरणमा भने नेपाल भारतसँग पराजित भएको थियो । यसपटक नेपालले सिंगापुरमा सम्पन्न छनोट प्रतियोगितामा अपराजित रहँदै एसियन गेम्समा स्थान सुरक्षित गरेको हो ।
एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर २४ देखि सुरु हुनेछ । क्रिकेटका सबै खेलहरू जापानको आइची क्षेत्रमा आयोजना गरिने तय भएको छ ।


