नेपाल न्युज प्वाइन्ट डटकम
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण आगामी भदौ १८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत मञ्चले अवार्डको मिति सार्वजनिक गरेको हो। कार्यक्रम प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा हुनेछ। अघिल्लो संस्करण भने पहिलोपटक उपत्यकाबाहिर पोखरामा आयोजना गरिएको थियो।

अवार्डका लागि मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुपसँग ४५ लाख रुपैयाँको सम्झौता गरिएको छ। मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। गोल्छा ग्रुप लगातार १९ वर्षदेखि अवार्डसँग आबद्ध रहँदै आएको छ र यसअघि नै पाँच वर्षका लागि सहकार्य नवीकरण भइसकेको छ। यस वर्ष अवार्डमार्फत १७ लाख रुपैयाँ नगद र पाँच वटा मोटरसाइकल प्रदान गरिने जनाइएको छ।

यसपटक अवार्ड ९ विधामा प्रदान गरिनेछ, जसमा वर्ष खेलाडी (पुरुष र महिला), वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन्। प्रमुख विधा—पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस—का विजेताले एक–एक थान बजाज मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई नगदसहित सम्मान गरिनेछ। यी विधाहरूको मनोनयन सूची केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ।

मञ्चका अध्यक्ष अधिकारीले अवार्ड नेपाली खेलकुदकर्मीहरूको साझा सम्मान भएको उल्लेख गर्दै कार्यक्रमलाई अझ व्यवस्थित, निष्पक्ष र भव्य बनाउन विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको जानकारी दिए।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update