काठमाडौं : बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन् । आजकै मितिदेखि लागू हुने गरी दिइएको राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ । यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२), पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ । पत्रमार्फत राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ ।
राजीनामापछि संसदीय दलका नेता थपलियाले एमालेले बागमती सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जानकारी दिएका छन् ।
एमालेबाट सरकारमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।
संविधानअनुसार अब मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके सरकार परिवर्तनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।
यसअघि बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको थियो । मन्त्रालय पुनर्संरचनापछि केही मन्त्री विनाविभागीय अवस्थामै रहेका थिए ।


