नेपाल न्युज प्वाइन्ट डटकम
प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अधिकारीले ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत करोडौं रुपैयाँ घुस लिएको र उक्त रकमको स्रोत लुकाउन श्रीमतीको नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएपछि आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

अख्तियारको अनुसन्धानका अनुसार अधिकारीले प्राधिकरणबाट सञ्चालन भएका ठेक्काहरूको स्वीकृति, रेखदेख र भुक्तानीको जिम्मेवारीमा रहँदा आफ्नो पदको दुरुपयोग गरेका थिए ।

उनले 'गायत्री निर्माण सेवा' का प्रमुख प्रेम प्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ । ठेक्का प्रक्रियामा सहजीकरण गरिदिएबापत उनले उक्त रकम बुझेको स्रोतले जनाएको छ ।

घुसबापत प्राप्त गैरकानुनी रकमको स्रोत लुकाउन अधिकारीले ललितपुर महानगरपालिका वडा नं. ५ मा १३ आना जग्गा श्रीमतीको नाममा खरिद गरेका थिए । जग्गाको सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्र मूल्य कायम गरी बैंकमार्फत कारोबार भएको देखाइएको भए पनि वास्तविक कारोबारमा घुसको थप रकम प्रयोग गरिएको पाइएको छ । यसरी अवैध धनलाई वैध बनाउने प्रयास गरेको भन्दै उनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत पनि कसुरदार ठहर गरिएको छ ।

अख्तियारले अधिकारीसँगै घुस दिने निर्माण व्यवसायी प्रेम प्रकाश ढकाललाई पनि प्रतिवादी बनाएको छ । अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम कैद र जरिवानाको माग गरिएको छ ।

साथै, घुसको रकमबाट खरिद गरिएको ललितपुरस्थित कित्ता नं. २२४ को १३ आना जग्गासमेत जफत गर्न अख्तियारले मागदाबी गरेको छ । राष्ट्रसेवक कर्मचारीको हैसियतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवैमा संलग्न भएको भन्दै उनलाई थप सजायको समेत माग गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update