नेपाल न्युज प्वाइन्ट डटकम
कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा रोकिराखिएको कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट क्षेत्रमा बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार आगलागीपछि कारभित्रै रहेका एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ । प्रारम्भिक जानकारीअनुसार उक्त गाडी नबिल बैंकको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक चालक सिटमा सीट बेल्ट बाँधेको अवस्थामै फेला परेका छन् । घटनाका बेला कारमा अन्य कोही पनि सवार नरहेको पुष्टि भएको छ । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

आगलागीको कारणबारे स्पष्ट हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update