काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।
आइतबार सिंहदरबारका बसेको समिति बैठकमा सभापति समिक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने बताएकी हुन् । भेट्ने वातावरणका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन् ।
शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका निहारिका र बिनुलाई प्रहरीले लछार–पछार गरेर हटाएको थियो ।
‘नागरिकता सम्बन्धी विषयमा बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ । विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ सभापति बास्कोटाले भनिन् ।


