नेपाल न्युज प्वाइन्ट डटकम
बाढी-पहिरोको जोखिम : काठमाडौं आवतजावत गर्ने सवारी र यात्रुलाई विशेष सावधानी अपनाउन अपिल

काठमाडौं : मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडक मार्गबाट काठमाडौं उपत्यकामा आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको भारी वर्षा हुन सक्ने सम्भावित क्षेत्रहरूको ‘रेड अलर्ट’सूचनालाई ध्यानमा राख्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।

सूचनाअनुसार काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा बाहिरिने नाकाबाट सञ्चालन हुने सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधनका सवारी धनी, चालक, सहचालक र यात्रुले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।

विगतका वर्षहरूमा रातिको समयमा बाढी र पहिरोका कारण गम्भीर क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै सम्भावित भारी वर्षा हुने दिनमा विशेष गरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

साथै, सडकको कुनै खण्डमा अवरोध भए–नभएको यकिन जानकारी प्रहरी प्रशासनबाट लिएर मात्र यात्रा गर्न तथा सडक अवरुद्ध भएमा यात्रुलाई खाना, पानीको व्यवस्था मिलाउन र बाढी तथा पहिरोबाट सुरक्षित स्थानमा मात्र रोक्न अनुरोध गरिएको छ ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोल–फ्रि नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सबैसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update