नेपाल न्युज प्वाइन्ट डटकम
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

काठमाडौं : आन्दोलनरत मिटरब्याज (अनुचित लेनदेन)पीडित पक्ष र सरकारी वार्ता टोलीबीच निर्णायक वार्ता जारी छ । 

गत बुधबार सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने  तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सम्झौता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच छलफल जारी छ । 

यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो । हिजोको सोही छलफल र सहमतिका आधारमा  सम्झौताको तयारी भएको हो ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् ।

टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा रहैका छन् ।

पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन् । टोलीका अन्य सदस्यमा सिरहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update