नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् ।

सो क्रममा सभामुख अर्यालले प्रतिनिधिसभा सदस्यहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज र अपेक्षा बुझ्न आग्रह गरे ।

सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी र विश्वसनीय हुने बताए । सभामुख अर्यालले संसदले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको जानकारी दिए ।

नयाँ गठन भएको प्रतिनिधिसभाको यस अधिवेशनमा सदस्यहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी बैठकहरूमा अझ बढी सक्रियताको अपेक्षा व्यक्त गरे ।

सांसदहरूले जनताका माझबाट संकलन गरेका विषयहरू सदनमा प्रवेश गर्दा सरकारलाई थप जवाफदेही बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न शुभकामना दिँदै सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहीबार बस्ने बताए ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update