नेपाल न्युज प्वाइन्ट डटकम
टी-२० विश्वकप : अब 'सुपर १०'को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक, रोमाञ्चक र अर्थपूर्ण बनाउने उद्देश्यसहित नयाँ संरचना अनुमोदन गरेको हो। यद्यपि, यी परिवर्तनले अन्तिम औपचारिक स्वीकृति भने आगामी नोभेम्बरमा बस्ने आईसीसीको बैठकबाट पाउनेछन्।

सन् २०२८ देखि लागू हुने नयाँ ढाँचाअनुसार टी–२० विश्वकपमा सहभागी २० टोलीलाई अब चार समूहको सट्टा पाँच समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा चार–चार टोली रहनेछन्।

हालसम्म समूह चरणपछि ‘सुपर ८’ खेलाइँदै आएकोमा अब त्यसको स्थान ‘सुपर १०’ ले लिनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा पुग्नेछन्। यसरी छनोट भएका १० टोलीलाई दुई समूहमा पाँच–पाँच टोलीका रूपमा विभाजन गरिनेछ।

दोस्रो चरणमा प्रत्येक समूहको विजेता टोली सिधै सेमिफाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले भने ‘क्रसओभर इलिमिनेटर’ खेल्नेछन्। एउटा समूहको दोस्रो टोलीले अर्को समूहको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटरका विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन्।

आईसीसीका अनुसार यो प्रणालीले प्रतियोगिताको अन्तिम चरणसम्म प्रत्येक खेललाई महत्वपूर्ण बनाउनेछ र अन्तिम समयसम्म प्रतिस्पर्धाको रोमाञ्च कायम राख्नेछ।

नयाँ ढाँचाअनुसार समूह चरणका खेल ४० बाट घटेर ३० मा सीमित हुनेछन्। तर, दोस्रो चरणको ‘सुपर १०’ मा खेल संख्या १२ बाट बढेर २० पुग्नेछ। यसबाहेक इलिमिनेटरका दुई अतिरिक्त खेल पनि थपिनेछन्।

आईसीसीले दोस्रो चरणलाई अझ प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले यो परिवर्तन गरिएको जनाएको छ।

नेपाललाई सिधै ग्लोबल क्वालिफायर

सन् २०२८ को टी–२० विश्वकप छनोट प्रणाली पनि पूर्ण रूपमा परिमार्जन गरिएको छ।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा छनोट हुन नसकेका सबै टोलीले सिधै ग्लोबल क्वालिफायर खेल्नेछन्। नेपाल पनि यही समूहमा परेकाले उसले अब एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन।

नेपालले सन् २०२६ को टी–२० विश्वकपमा समूह चरणबाटै यात्रा टुंग्याएको थियो। त्यसैले विश्वकपमा स्वतः स्थान बनाउन नसके पनि उसले ग्लोबल क्वालिफायरमा सिधै स्थान सुरक्षित गरेको हो।

ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान भने क्षेत्रीय छनोटमार्फत भरिनेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त (ईएपी) क्षेत्रबाट एक–एक टोली छनोट हुनेछन्।

त्यसपछि ग्लोबल क्वालिफायरबाट प्रत्येक क्षेत्रको उत्कृष्ट टोलीसँगै समग्रमा उत्कृष्ट थप तीन टोलीले न्यूनतम प्रदर्शन मापदण्ड पूरा गरेमा टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्।

आईसीसीले स्कटल्यान्डलाई भने विशेष व्यवस्थाअनुसार २०२६ को प्रदर्शनका आधारमा युरोप क्षेत्रीय छनोटको फाइनलमा सिधै स्थान दिने निर्णय गरेको छ।

यसअघि विश्वकप छनोटका लागि एसिया, युरोप, अमेरिका, अफ्रिका तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट मात्र सञ्चालन हुँदै आएकोमा अब ग्लोबल क्वालिफायरको अवधारणालाई पुनः लागू गरिएको हो।

आईसीसीले सहयोगी (एसोसिएट) सदस्य राष्ट्रहरूको स्तर उकास्ने उद्देश्यले १६ टोली सहभागी हुने नयाँ विश्वस्तरीय प्रतियोगिता आयोजना गर्ने अवधारणालाई पनि समर्थन गरेको छ।

प्रस्तावित प्रतियोगिता टी–२० विश्वकपअघि आयोजना गर्ने योजना रहेको छ। यसले सहयोगी राष्ट्रलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा उपलब्ध गराउने, अनुभव बढाउने तथा विश्वकपका लागि गुणस्तरीय तयारी गर्ने अवसर प्रदान गर्ने आईसीसीको विश्वास छ।

यद्यपि, यो प्रतियोगिताले अन्तिम स्वीकृति भने आगामी नोभेम्बरमा बस्ने आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षा पछि मात्र पाउनेछ।

आईसीसीले १४ टोली सहभागी हुने पुरुष एकदिवसीय विश्वकपको ढाँचा पनि परिवर्तन गरेको छ। नयाँ संरचनाअनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ।

पहिलो चरणमा वरीयताको पुछारका तीन टोली (१२औँ, १३औँ र १४औँ स्थानमा रहेका) बीच ‘सुपर सिरिज’ हुनेछ। यस सिरिजको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

दोस्रो चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा ६–६ टोली रहनेछन्। दुवै समूहका शीर्ष तीन टोली र समग्रमा उत्कृष्ट थप एक टोली गरी सात टोली अन्तिम चरणमा पुग्नेछन्।

तेस्रो चरणमा सात टोलीबीच ‘राउन्ड रोबिन’ प्रणालीमा प्रतिस्पर्धा हुनेछ, जहाँ सबै टोलीले एकअर्कासँग खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् भने विजेता टोलीबीच फाइनल हुनेछ।

आईसीसीका अनुसार नयाँ ढाँचाले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म हरेक खेललाई समान रूपमा महत्वपूर्ण बनाउने, प्रतिस्पर्धाको स्तर बढाउने तथा विश्वकपलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update