नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको आरोप लगाएकी छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सभामुखमार्फत रुलिङको मागसमेत गरिन् ।

सांसद गुरुङले युवा नेतृत्वबाट ठुलो आशा गरिएको भएपनि वर्तमान सरकारको कार्यशैलीले सर्वसाधारणमा निराशा मात्र बढाएको उल्लेख गरिन् । उनले सरकारले गम्भीर प्रश्नहरू उठ्दा त्यसलाई ओझेलमा पार्न नयाँ–नयाँ प्रपञ्च रच्ने गरेको दाबी गरिन् ।

सुकुम्वासी व्यवस्थापनको सन्दर्भमा उनले अव्यावहारिक नीतिका कारण हालसम्म ९ जनाको ज्यान गइसकेको बताइन् । १८ महिने बालक उज्ज्वल तामाङदेखि ७५ वर्षीया रतन देवी मलाहानीसम्मले ज्यान गुमाउनुपरेको घटनालाई उनले ‘राज्यद्वारा गरिएको संस्थागत हत्या’को संज्ञा दिइन् । उनले बिना तयारी सुकुम्वासी बस्ती खाली गराउँदा मानवीय संवेदनाको अभाव देखिएको र यसले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गरिन् ।

सांसद गुरुङले भनिन्, ‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्वासी बस्तीमा डोजर चलाउनु र अन्य जल्दाबल्दा समस्या हुँदा विषयान्तर गर्नु सरकारको पुरानो शैली भइसकेको छ । महँगीले सीमा नाघेको छ, अर्थतन्त्र शिथिल छ र शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । विमानस्थलमा वैदेशिक रोजगारीमा जाने युवाहरूको भीड कम भएको छैन । राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन । प्रधानमन्त्रीको कार्यप्रणालीले लोकतान्त्रिक व्यवस्था र संविधानवादमाथि नै प्रश्न उठाएको छ।’

उनले मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल जस्ता युवाहरूको आत्मदाहलाई व्यक्तिगत घटना मात्र नभई राज्यको असफलताको प्रतिविम्बका रूपमा चित्रण गरिन् । उनले सरकारले जेनजी अभियन्ताहरूमाथि दमन गरेको र स्वतन्त्र प्रेसलाई तर्साउन ‘भिजिलान्ते’ शैली अपनाएको आरोप लगाइन् ।

दलित, मधेशी, महिला र सीमान्तकृत समुदायले राज्यबाट असुरक्षित महशुस गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले लोकतन्त्रमा ‘सरप्राइज’ नभई कानुनको शासन र पूर्वानुमानयोग्यता महत्वपूर्ण हुने बताइन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले उभिएर अवरोध गरेका हुन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भई सांसदका प्रश्नहरुको जवाफ दिनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update