काठमाडौं : रास्वपाका नेता पूर्व महामन्त्री मनिष झाले सञ्चार गृह तथा अन्य संवेदनशील स्थानहरूमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद झाले राज्यको यस्तो कदमलाई बचपनाको संज्ञा दिएका छन् । उनले राज्यको काम नागरिकको चिन्ता र डरलाई निराकरण गर्ने हुनुपर्नेमा उल्टै आतंकित पार्ने काम भइरहेको आरोप लगाए ।
‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतंकित बनाउने हैन । यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन जेड सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।’ उनले लेखेका छन् ।


