रौतहट : रौतहटको गरुडा नगरपालिकामा एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई तत्काल गरुडास्थित अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सहनीको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।
घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
परिवारका अनुसार सहनी पछिल्लो समय मानसिक तनाव (डिप्रेसन) मा थिए र अत्यधिक मदिरा सेवन गर्ने गर्थे । यद्यपि, आत्मदाह प्रयासको यकिन कारण खुल्न सकेको छैन ।
पछिल्लो समय देशका विभिन्न स्थानमा आत्मदाहका घटनाहरू बढ्दो क्रममा देखिएका छन् । यसअघि मुगुका गणेश नेपाली, काठमाडौंका आश्विन राउत र सर्लाहीका विवेक मण्डलले आत्मदाह गरेपछि ज्यान गुमाइसकेका छन् ।


