नेपाल न्युज प्वाइन्ट डटकम
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय तोकेको हो ।

अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ । उनीविरुद्ध ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोष प्रमाणित भएको थियो । फरक-फरक कसुरमा तोकिएको सजायलाई समायोजन गर्दै एकीकृत सजाय निर्धारण गरिएको अदालतले जनाएको छ ।

यसै प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदालतले खाणलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै फरक-फरक सजाय निर्धारण गरेपछि एकीकृत रूपमा उक्त सजाय कायम गरेको हो ।

त्यस्तै, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पनि ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ । अदालतले उनलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।

उक्त मुद्दामा अन्य अभियुक्त टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकिएको अदालतले जनाएको छ ।

यसअघि असार २४ गते नै अदालतले उक्त प्रकरणमा १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए । त्यसपछिको सुनुवाइमार्फत दोषी ठहर भएकाहरूको सजाय निर्धारण गरिएको हो ।

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने प्रलोभनमा ठुलो रकम असुल्ने आरोपमा दर्ता भएको यो प्रकरण पछिल्लो समयको सबैभन्दा चर्चित र गम्भीर मानव तस्करी तथा ठगीसम्बन्धी मुद्दामध्ये एक मानिएको छ ।

1-1784040475.jpg
2-1784040475.jpg
3-1784040477.jpg
4-1784040476.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update