काठमाडौँ : यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा सार्वजनिक भएको ट्राफिक जरिबानासम्बन्धी नयाँ दर उल्लेख गरिएको सामग्री आधिकारिक नभएको जनाएको छ ।
विभागले सूचना जारी गर्दै मोटर यातायात तथा ट्राफिक नियमावलीको नाम उल्लेख गरी विभागबाट जारी भएको भनिएको जरिबाना सम्बन्धी विवरण भ्रामक र झुटो रहेको स्पष्ट पारेको हो ।
विभागका अनुसार हाल प्रचलित कानुनले तोके अनुसारकै ट्राफिक जरिबाना रकम कार्यान्वयनमा रहेको छ। सामाजिक सञ्जालमा प्रसारित सामग्रीमा उल्लेख भएजस्तो नयाँ कानुनी व्यवस्था हाल अस्तित्वमा नरहेको विभागले जनाएको छ ।
विभागले यस्ता अप्रमाणित सामग्रीको सत्यता पुष्टि नगरी सामाजिक सञ्जालमा लाइक, सेयर वा प्रचार नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ। गलत सूचना प्रसारण वा वितरण गर्दा विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ लगायत प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ ।
यातायात व्यवस्था विभागले नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुन जारी नभएसम्म ट्राफिक जरिबाना तथा सम्बन्धित व्यवस्था हाल कायम रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सोअन्तर्गतको नियमावलीअनुसार नै सञ्चालन हुने जानकारी दिएको छ ।


