काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमा खलल पुर्याउने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको विरुद्ध रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताका विरुद्ध छन् । कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने र सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने प्रवृत्ति रास्वपालाई स्वीकार्य छैन ।'
रास्वपाले स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता कार्यहरूको कडा शब्दमा भर्त्सना गरेको छ ।
रास्वपाले यस घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमार्फत नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायलाई शंकास्पद गतिविधिमा संलग्न जोसुकैलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।



