काठमाडौं : राजधानीका तीन सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा सोमबार बिहान शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । गेटमै गाडी अड्याइएपछि सञ्चारमाध्यमको नियमित आवतजावत तथा समाचार संकलनसमेत केही समय प्रभावित भएको छ ।
तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, बुद्धनगरस्थित अनलाइनखबर र पुरानो बानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालयको गेटअगाडि निजी नम्बर प्लेट भएका सवारी साधन बेवारिसे अवस्थामा फेला परेका हुन् । ती गाडी कार्यालयभित्र प्रवेश–निर्गमन अवरुद्ध हुने गरी पार्किङ गरिएको र गाडीभित्र चाबीसमेत नभेटिएको जनाइएको छ ।
गेटमै गाडी राखिएकाले कान्तिपुर टेलिभिजनका प्रसारण तथा रिपोर्टिङका लागि प्रयोग हुने सवारी साधन बाहिर निकाल्न समस्या भएको थियो । पत्रकारहरूको आवतजावतसमेत केही समय अवरुद्ध भएको बताइएको छ । अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयमा पनि प्रवेशद्वारको ठुलो भाग गाडीले ढाकेका कारण नियमित गतिविधिमा असर परेको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै सञ्चारमाध्यमहरूले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार तीनवटै सवारी साधनको प्राविधिक परीक्षण, स्वामित्व पहिचान तथा सिसिटिभी फुटेजको अध्ययनमार्फत कसले, किन र कुन उद्देश्यले ती गाडी त्यहाँ राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार घटनामा प्रयोग भएका तीनवटै गाडी निजी नम्बर प्लेटका हुन् । ती गाडीका चालक वा सम्बन्धित व्यक्ति हालसम्म सम्पर्कमा नआएको र कसले छाडेर गएको भन्ने खुलेको छैन ।


