नेपाल न्युज प्वाइन्ट डटकम
गणेश नेपालीको मृत्यु राजनीतिक बहसको विषय होइन, सामूहिक आत्मचिन्तनको क्षण हो : कांग्रेस सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई राज्य, समाज र नागरिक सबैले सामूहिक आत्मचिन्तन गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनले यो घटनालाई समाज, राज्य र समग्र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षणको संज्ञा दिएका छन्।

थापाले दिवंगत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।

उनले गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। यस्ता घटनालाई राजनीतिक दृष्टिकोणबाट हेर्नुभन्दा पीडित परिवारलाई साथ दिने वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

सभापति थापाले गणेश नेपालीका आश्रित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न आग्रह गरेका छन्। पीडित परिवारको दुःख कम गर्न राज्य, समाज तथा नागरिक सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

उनले विगत वा वर्तमानमा कसको कमजोरी थियो भन्ने बहसभन्दा पनि यस्ता दुःखद घटनाले राज्य सञ्चालन प्रणाली, सार्वजनिक सेवा र सामाजिक संरचनामाथि गम्भीर समीक्षा गर्न बाध्य बनाएको बताएका छन्। उनका अनुसार यो घटना राज्य र समाजले आत्ममूल्यांकन गर्नुपर्ने संकेतका रूपमा लिन आवश्यक छ।

थापाले समाजका सामु केही गम्भीर प्रश्न पनि उठाएका छन्। एउटा युवा किन यस्तो निराशाको अवस्थामा पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा, संयन्त्र र संस्थाले नागरिकलाई आवश्यक आड, भरोसा र संरक्षण दिनुपर्ने अवस्थामा किन कतिपय नागरिकले आफूलाई पूर्ण रूपमा असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र नागरिकका रूपमा हामी कहाँ चुकेका छौं भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्ने उनले बताएका छन्।

उनका अनुसार यस्ता प्रश्नहरूको निष्पक्ष र इमानदार ढंगले उत्तर खोज्दै भविष्यमा कुनै पनि नागरिकले आफ्नो पीडा व्यक्त गर्न यस्तो चरम बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको वास्तविक श्रद्धाञ्जली हुनेछ।

थापाले अन्त्यमा राजनीतिक मतभेदभन्दा माथि उठेर मानवीय संवेदना, जिम्मेवारी र सहकार्यलाई प्राथमिकता दिन सबैसँग अपिल गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्य र समाज दुवैले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update