नेपाल न्युज प्वाइन्ट डटकम
गणेश नेपाली मृत्यु प्रकरण : माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

काठमाडाै‌ं : काठमाडाै‌ं महानगर प्रहरीको ज्यादतीका कारण आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि अन्योल सिर्जना भएको छ । २५ वर्षीय नेपालीकाे मोटरसाइकलमा काठमाडाै‌ं महानगर प्रहरीले ह्वील लक गरेपछि बिहीबार आत्मदाह प्रयास गरेका थिए ।

बिहीबार नै वीर अस्पतालमा भर्ना गरिएका उनको आज मध्याह्न उपचारका क्रममा निधन भएको हो । नेपालीको मृत्यु घटनाले सरकारको नागरिकलाई हेर्ने दृष्टिकोण, नगर प्रहरीको रवैयालगायत विषयमा आपत्ति व्यक्त भएको छ ।

नेपालीको निधनपछि आक्रोशित युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । ‘राज्य आतंक बन्द गर’, ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै प्रदर्शन गरेका हुन् । नेपालीको मृत्युपछि उनको शव उठाउने वा नउठाउने विषयमा पनि अन्योल बढेको छ ।

नेपालीको मृत्युपछि अस्पतालमा भीड बढेको छ । सोही कारण सयौं प्रहरी परिचालन गरिएको छ । जेन–जी अगुवाहरू रक्षा बम, तनुजा पाण्डेसहितले पनि राज्य अकर्मण्य भएको भन्दै आपत्ति जनाएका छन् ।

गणेशका श्रीमती र एक छोरी छन् । गणेश नै परिवारका सहारा थिए । उनकै निधन भएपछि परिवार थप संकटमा परेको छ । यसैले परिवारले राज्यले नै गणेशको परिवारको जिम्मा नलिएसम्म शव नउठाउने अडान लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update