काठमाडौं : नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबै १८ जना प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको बिहीबारको संयुक्त इजलासले आरोपित सबैलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।
सफाइ पाउनेहरूमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता अर्याल, प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठलगायत १८ जना रहेका छन् ।
अदालतले प्रतिवादीहरूले नेपाल टेलिकमलाई गैरकानुनी रूपमा हानि–नोक्सानी पुर्याउने वा व्यक्तिगत लाभ लिने बदनियतका साथ काम गरेको भन्ने आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २५ गते सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


