काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनका क्रममा सबै विषयलाई एकैपटक खोल्न खोजे मुलुक फेरि राजनीतिक जटिलता र अस्थिरताको अवस्थातर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। उनले संविधानका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै संशोधन प्रक्रिया प्राथमिकता निर्धारण गरेर सहमतिका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।
बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसका लागि स्पष्ट प्राथमिकता तय गर्नुपर्ने धारणा राखे।
उनले संविधानका सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा विगतका राजनीतिक उपलब्धि नै जोखिममा पर्न सक्ने बताए।
‘एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने सोचले आठ–दस वर्षको प्रयासपछि बल्ल स्थिर बन्दै गएको अवस्थालाई फेरि ठूलो संकटतर्फ लैजान सक्छ। यही विषयमा नेपाली कांग्रेस चिन्तित छ,’ उनले भने।
संविधान संशोधनका क्रममा भारतीय संविधानका मुख्य शिल्पकार भीमराव अम्बेडकरले प्रतिपादन गरेको ‘ग्रामर अफ एनार्की’ (अराजकताको व्याकरण) को अवधारणा स्मरण गर्नुपर्ने उनको भनाइ थियो। प्राथमिकता निर्धारण नगरी संशोधनका सबै ढोका खोलिए संविधान निर्माणको मर्म नै कमजोर हुने उनले बताए।
‘राष्ट्रियता र जनताको मौलिक अधिकारबाहेक अन्य सबै विषय संशोधन गर्न सकिन्छ भन्ने व्यवस्थाको अर्थ जे पनि गर्न पाइन्छ भन्ने होइन। संविधान सभाले संविधान निर्माण गर्दा अपनाएको सोच र चेतनालाई बुझ्न आवश्यक छ,’ उनले भने।
सभापति थापाले संविधान संशोधनको विषयमा सरकारसँग टकराव नभई सहकार्य चाहेको पनि स्पष्ट पारे। संविधान निर्माणको मूल नेतृत्व नेपाली कांग्रेसले गरेको स्मरण गराउँदै उनले यस विषयमा पार्टीको विशेष जिम्मेवारी रहेको बताए।
‘हामी सरकारलाई अप्ठेरो पार्न खोजिरहेका छैनौं। संविधान संशोधनजस्तो संवेदनशील विषयमा सरकारसँग मिलेरै अघि बढ्न चाहन्छौं। संविधान निर्माणको मूल नेतृत्वकर्ता नेपाली कांग्रेस भएकाले यसको संरक्षण र सुधारमा पनि हाम्रो विशेष दायित्व छ,’ उनले भने।
उत्तेजना वा पूर्वाग्रहका आधारमा संविधान संशोधन गर्न नहुने उल्लेख गर्दै उनले आवश्यक परे सरकारलाई सही मार्गमा ल्याउने भूमिका पनि कांग्रेसले निर्वाह गर्ने दाबी गरे।
सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, बहुदलीय संसदीय शासन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक चरित्रजस्ता संविधानका आधारभूत विषयमा नेपाली कांग्रेसले कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
‘यी विषय हाम्रो पार्टीको विधान, घोषणापत्र र केन्द्रीय कार्यसमितिको निर्णयबाट पनि स्थापित छन्। लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता आधारभूत मूल्यमा कुनै सम्झौता हुन सक्दैन,’ उनले भने।
त्यस्तै शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, विधिको शासन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, खुला समाज र मानव अधिकार पनि संविधानका मूल स्तम्भ भएको उल्लेख गर्दै उनले ती व्यवस्थालाई कमजोर बनाउने कुनै संशोधन कांग्रेसलाई स्वीकार्य नहुने बताए।
यद्यपि, लोकतन्त्रलाई थप परिणाममुखी बनाउन, नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन, सुशासन सुदृढ गर्न र संविधानलाई अझ नागरिकमैत्री तथा समावेशी बनाउन आवश्यक परिमार्जन भने गर्न सकिने उनको धारणा थियो।
संविधान संशोधनको प्रक्रिया सहमति, जिम्मेवारी र लोकतान्त्रिक मूल्यका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै सभापति थापाले आवश्यक संशोधनमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने पनि बताए।


