नेपाल न्युज प्वाइन्ट डटकम
राजेन्द्र राईको अभिव्यक्तिपछि संसद्‍मा विवाद, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले 'सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ?' भनि आफनो अभिव्यक्ति दिन शुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त भनाइप्रति आपत्ति जनाउँदै उनलाई बोल्न रोक लगाएका थिए ।

त्यसै क्रममा उनले अर्का विपक्ष दलका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिएपछि उनले पनि बोल्न चाहेनन् ।

त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाएकी थिइन् ।

त्यसपछि फेरि सभामुखले उक्त अभिव्यक्तिको माफी माग्ने सर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिएका थिए ।

तर सांसद राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले ५ वर्षसम्म संसद चलाउने ढाँचा नल्याएको भन्दै फेरि आलोचना गरेका थिए ।

उनको उक्त अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update