नेपाल न्युज प्वाइन्ट डटकम
गढीमाईका मेयर यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेलको ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारको अनुसन्धान अनुसार, नगरपालिकाले समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन र संकलनका लागि आह्वान गरेको बोलपत्रमा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. ले ३ करोड २५ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । नियम अनुसार ७ दिनभित्र सबै रकम बैंकमा जम्मा गरी सम्झौता गर्नुपर्नेमा कम्पनीले ८४ लाख ६३ हजार रुपैयाँ मात्र बुझाएको पाइएको छ ।

कम्पनीले पूरा रकम नबुझाउँदै नगरपालिकाका अधिकारीहरूले १ करोड रुपैयाँ जम्मा भइसकेको भन्ने झुटो प्रतिवेदन र टिप्पणी स्वीकृत गरी सम्झौता गराएको देखिएको छ । यसरी सर्तविपरीत १ महिनाका लागि १० हजार घनमिटर उत्खनन गर्ने अस्थायी अनुमति दिएर ५४,३५५ घनमिटर सामग्री उत्खनन गर्न दिइएको र यसबाट नगरपालिकालाई ठुलो हानि पुर्‍याइएको अख्तियारको ठहर छ ।

अख्तियारले गढीमाई नगरपालिकाका मेयर यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कन्स्ट्रक्सन कम्पनीका मुख्य सञ्चालक राधेश्याम साहविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले चारै जना प्रतिवादीबाट जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ । साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना समेत हुनुपर्ने मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update