नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री शाह र एडिबी अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

​नेपाल सरकार र एडिबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडिबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।

​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ ।

​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडिबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका छन् ।

​उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठुलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडिबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update