नेपाल न्युज प्वाइन्ट डटकम
एसइई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो ।

बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको १४ दिनमै सार्वजनिक गरेको हो । गत वैशाख २८ गते प्रकाशित एसईई २०८२ को नतिजामा दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरू ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

जिपिएका आधारमा सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्मको जिपिए प्राप्त गरेका छन् । त्यसैगरी १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जिपिए हासिल गरेका छन् । ०.८० देखि १.२० र १.२० देखि १.६० जिपिए प्राप्त गर्ने विद्यार्थी भने नरहेको बोर्डले जनाएको छ ।

यसैबीच, परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिनेछ । साथै, नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले बोर्डले तोकेको अवधिभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update