नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यको सुनको स्रोत खुलाउन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको सुनको स्रोत खुलाउन माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले देखाएको प्रतिबद्धताको स्वागत गर्दै सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख गरिएको ठूलो परिमाणको सुनप्रति जनस्तरबाट प्रश्न उठिरहेको उल्लेख गर्दै त्यसको स्रोतबारे स्पष्ट पार्न आग्रह गरे ।

‘हामी कसैले सम्पत्ति किन आर्जन गर्‍यो भनेर प्रश्न गर्दैनौं । तर सार्वजनिक जीवनमा रहेका व्यक्तिले आफ्नो सम्पत्तिको स्रोत भने खुलाउनुपर्छ । प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन देखिएको छ । त्यसको स्रोत के हो भन्ने कुरा जनताले जान्न पाउनुपर्छ,’ आङ्देम्बेले भने ।

सम्पत्ति छानबिनको प्रक्रिया आफूबाटै सुरु गर्न तयार रहेको बताउँदै उनले प्रधानमन्त्री पनि त्यसका लागि तयार हुनुपर्ने धारणा राखे ।

‘म प्रमुख प्रतिपक्षी दलको नेता हुँ । सम्पत्ति छानबिन मबाटै सुरु गरौं । त्यसपछि प्रधानमन्त्रीबाट पनि गरौं । म तयार छु, प्रधानमन्त्री तयार हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।

आङ्देम्बेले सम्पत्ति छानबिन निष्पक्ष, कानुनसम्मत र सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिए । आफूलाई कानुनभन्दा माथि राखेर चयनात्मक रूपमा छानबिन गर्न नहुने उनको भनाइ थियो ।

संसद्प्रति प्रधानमन्त्रीको उत्तरदायित्वबारे पनि उनले प्रश्न उठाए । संसद् सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था भएकाले प्रधानमन्त्री नियमित रूपमा संसद्मा उपस्थित हुनुपर्ने उनको भनाइ थियो ।

‘प्रधानमन्त्री संसद्को विश्वासमा सरकार सञ्चालन गरिरहनुभएको छ । त्यसैले उहाँ संसद्प्रति उत्तरदायी हुनुपर्छ । विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने लोकतान्त्रिक अभ्यास संसारभर छ, तर आज पनि प्रधानमन्त्री उपस्थित हुनुभएन,’ उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्री सामाजिक सञ्जालभन्दा संसद्लाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै लोकप्रियता र उत्तरदायित्व फरक विषय भएको बताए ।

उनले सरकार गठनको १०० दिन पूरा हुँदा उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दा प्रधानमन्त्री स्वयं उदाहरण बन्नुपर्ने धारणा पनि व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update