नेपाल न्युज प्वाइन्ट डटकम
दलाई लामाको ९१औं जन्मदिन काठमाडौंमा मनाइयो

काठमाडौं : तिब्बती समुदायका आध्यात्मिक गुरु १४औं दलाई लामाको ९१औं जन्मदिनका अवसरमा काठमाडौंको स्वयम्भूस्थित नामग्याल स्कूलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपालस्थित विभिन्न देशका कूटनीतिक प्रतिनिधि, तिब्बती समुदाय तथा बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। जन्मदिनका अवसरमा विशेष प्रार्थना, सांस्कृतिक प्रस्तुति तथा केक काटेर उत्सव मनाइएको थियो ।

विश्वभर भारत, नेपाललगायत विभिन्न मुलुकका तिब्बती समुदाय र उनका अनुयायीहरूले पनि विविध कार्यक्रम गरी १४औं दलाई लामाको ९१औं जन्मदिन मनाएका छन् ।

दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए । तर तिब्बतमा बढ्दो राजनीतिक तनावबीच सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि तिब्बतबाट भारत पुगेका थिए । त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन् । 

यता उपत्यकामा दलाई लामाको जन्मदिनको अवसरमा प्रदर्शन हुने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । तिब्बती मूलका नेपाली र तिब्बती शरणार्थीहरुको बसोबास रहेको बौद्ध, स्वयम्भू, जावलाखेल क्षेत्रमा उच्च निगरानी बढाइएको छ । 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update