नेपाल न्युज प्वाइन्ट डटकम
दैलेख बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न सांसदहरूको माग, उद्धारमा ढिलाइ भएको आरोप

काठमाडौं : दैलेखमा गत १८ असारमा भएको यात्रुबाहक गाडी दुर्घटनाको घटनालाई सरकारले गम्भीर रूपमा नलिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न र उद्धार कार्यमा भएको ढिलाइबारे जिम्मेवारी निर्धारण गर्न माग गरेका छन्।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा १८ असार बिहान करिब ११:३० बजे कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले दुर्घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरिन्। उनले कर्णाली क्षेत्रमा बारम्बार हुने सवारी दुर्घटना रोक्न सडकको स्तरोन्नति र सुरक्षित पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जिम्मेवार बनाउनुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी योजना ल्याउन आग्रह गरिन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दुर्घटनापछि उद्धार कार्यमा गम्भीर ढिलाइ भएको आरोप लगाए। उनले घटनाबारे सत्यतथ्य छानबिन, उद्धारमा भएको ढिलाइको कारण पहिचान तथा सम्बन्धित निकायको जिम्मेवारी निर्धारण गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे।

बैठकमा बोल्दै शाहीले दुर्घटनापछि नदीको बीचमा फसेका यात्रुले लामो समयसम्म सहयोगका लागि गुहार मागिरहेको र एक जना यात्रु भिरमा अड्किएको अवस्थामा रहे पनि समयमै उद्धार हुन नसकेको दाबी गरे।

उनले दैलेख बस दुर्घटनाको समग्र घटनाबारे निष्पक्ष छानबिन गरी उद्धार प्रणालीमा देखिएका कमजोरीको मूल्यांकन गर्न सरकारलाई निर्देशन दिन सभामुखसँग आग्रह गरे।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update