काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने स्थानीय तहका प्रमुखदेखि प्रदेश मन्त्रीसम्मलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
मन्त्री लम्सालले जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै सेवा प्रवाहमा लापरबाही गर्ने वा नागरिकलाई दुःख दिने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।
उनले भने, “यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस् । आवश्यक कारबाही गर्छौं । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं, चिन्ता लिनुपर्दैन ।”
उनले विकास निर्माणका कामलाई कुनै पनि बहानामा रोक्न नहुने उल्लेख गर्दै सबै तहका जनप्रतिनिधिले परिणाममुखी ढंगले काम गर्नुपर्ने बताए । “काम गर्नु पनि पर्छ, गराउनु पनि पर्छ। विकास हुनैपर्छ,” उनले भने । उनले जनप्रतिनिधिलाई व्यवहार परिवर्तन गर्दै नागरिकको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।
मन्त्री लम्सालले संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका समस्या र गुनासा सम्बन्धित निकायसम्म पुर्याउन नागरिकलाई आग्रह गरे । सरकार सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रमका क्रममा उनले तनहुँ जिल्लाका लागि करिब ४ अर्ब रुपैयाँको बजेट सीमाभित्र रहेर सडक तथा पुल निर्माणका योजना अघि बढाउन सुझाव दिएका थिए । छलफलमा रास्वपाका तनहुँ जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाका विकास निर्माणका प्राथमिकताबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
यसअघि उनले काम नगर्ने ठेकेदारको 'खुट्टा भाँच्ने' अभिव्यक्ति दिएका थिए, जसको चौतर्फी आलोचना भएको थियो । अहिले प्रदेश मन्त्रीलाई नै 'थुन्छौं' भन्ने उनको भनाइको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र त्यसबारे विभिन्न टिप्पणी भइरहेका छन् ।


