नेपाल न्युज प्वाइन्ट डटकम
विद्यालय भवन निर्माणमा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित जनता (नमूना) माध्यमिक विद्यालयको भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयको ८ कोठे 'प्रि-स्कुल ब्लक' निर्माणका क्रममा भएको अनियमिततालाई लिएर आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

११ लाख १० हजारभन्दा बढी भ्रष्टाचार भएको ठहर आयोगका अनुसार उक्त भवन निर्माणका लागि तयार पारिएको लागत अनुमान र प्राविधिक बिलको तुलनामा स्थलगत नापजाँच गर्दा ठुलो भिन्नता पाइएको छ । नगरेको कामको पनि झुटो बिल र भरपाई बनाई ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बढी भुक्तानी लिएर सरकारी कोषलाई हानि पुर्‍याएको अख्तियारको दाबी छ ।

अख्तियारले राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृ बैजु ठाकुर, नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह पैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र विद्यालयका लेखापाल शेख जहिरविरुद्ध मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/११/०३ को निर्णयअनुसार नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत बहुवर्षीय गुरुयोजना स्वीकृत गरी भवन निर्माण सुरु गरिएको थियो । ९७ लाख ३७ हजार ९९४ रुपैयाँ लागत अनुमान गरिएको उक्त भवनको संशोधित लागत १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ पुर्‍याइएको थियो । अन्तिममा १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँको बिल तयार गरी भुक्तानी लिने/दिने कार्य भएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । साथै तत्कालीन इन्जिनियर पैसलको हकमा गलत प्रतिवेदन तयार गरेको भन्दै थप सजायको समेत मागदाबी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update