काठमाडौं : सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको बताए ।
सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । बैठकले शिक्षा दशौं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको मन्त्री पोखरेलले बताए ।
त्यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने, एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ ।


