काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका छन् । हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य नेतृत्वको टोली मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक नियम उल्लंघनसम्बन्धी चिट काट्दै जरिवाना असुल गरेको हो । ट्राफिक प्रहरीले जारी गरेको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।
मुख्यमन्त्री शाहले आफ्नै निवास परिसरमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको थियो । उक्त भिडियो मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका थिए ।
कारबाहीपछि पत्रकारसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरे । उनले कानुन सबैका लागि समान हुने भएकाले नियमअनुसार आफूलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई स्वयं आग्रह गरेको बताए ।
उनले ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै विभेद हुन नहुने उल्लेख गरे ।
मुख्यमन्त्री शाहले ट्राफिक नियमको पूर्ण पालना गर्न सबै नागरिकलाई समेत आग्रह गरेका छन् ।


